शुल्क वृद्धि फिर्ता लिन अभिभावक महासंघको माग

शुल्क वृद्धि फिर्ता लिन अभिभावक महासंघको माग

बैशाख ५, काठमाडौं ।   
अभिभावक महासंघले नयाँ शैक्षिक सत्र सुरु भएसँगै निजी विद्यालयहरूले आफूखुसी बढाएको शुल्क फिर्ता लिन माग गरेको छ । 

महासंघका बुधबार विज्ञप्ति जारी गर्दै शुल्क वृद्धिको निर्णय फिर्ता लिन माग गरेका हुन् । ‘ऐन–नियमले व्यवस्था गरेको मापदण्डको सीमालाई ठाडै हस्तक्षेप गरी खासगरी काठमाडौं उपत्यकाभित्रका केही निजी विद्यालयले आफूखुसी शुल्क निर्धारण गरेका छन्,’ विज्ञप्तिमा छ, ‘वार्षिक शुल्कको नाममा एक लाख पचास हजार रुपैयाँभन्दा बढी र आईबी वा प्रोग्रेसिभ मोडेलको नाममा अत्यधिक मासिक शुल्क लिने काम भइरहेको छ ।’

काठमाडौं महानगरपालिका शिक्षा विभागले अभिभावक महासंघ र संस्थागत विद्यालय संघलाई कुनै जानकारी नदिई मौजुदा शुल्कमा ४० प्रतिशतसम्म वृद्धि गरेको प्रतिसमेत महासंघले आपत्ति जनाएको छ ।

अधिकांश निजी विद्यालयले विद्यालय पोसाक,पाठ्यपुस्तक, स्टेसनरीलगायत अन्य शैक्षिक सामग्री सम्बन्धित विद्यालयबाटै बिक्री–वितरण गर्ने वा आफूले तोकेको स्थानबाट खरिद गर्नुपर्ने बाध्यता सिर्जना गरेको भन्दै संघले त्यसको विरोध गरेका छ ।

शुल्क निर्धारण गर्न, ट्रान्सफर सर्टिफिकेट बिना विभीन्न विद्यालयले लिइरहेको भर्ना रोक्न, नेपालको संविधान २०७२ र शिक्षा ऐन विपरीत सामुदायिक विद्यालयले अंग्रेजी माध्यमको नाममा उठाइरहेको शुल्क निर्धारण गर्न तथा यस्ता गतिविधि यथाशीघ्र रोकथाम गरी कानुनको दायरामा ल्याउन सरकार, स्थानीय निकाय तथा सम्बद्ध सरोकारवालाको ध्यानाकर्षण गर्दै विज्ञप्ति निकालेको छ ।