आज र भोली देशैभर बालबालिकालाई भिटामिन 'ए' खुवाइँदै

आज र भोली देशैभर बालबालिकालाई भिटामिन 'ए' खुवाइँदै
तस्विर सौजन्य : theindependentbd

बैशाख ६, काठमाडौं ।   
सरकारले वैशाख  ६ र ७ गते देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरेको छ । 

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम दोस्रो चरण अन्तर्गत ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम छ।

शिघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम लागू भएका  जिल्लाका ५ वर्षमुनिका बालबालिकालाई पोषणस्थित लेखाजोखा र ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई सुक्ष्म पोषणतत्व बालभिटा वितरण गर्ने कार्यक्रम समेत रहेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय तह समन्वय शाखाले सबै स्थानीय तहलाइ सहजीकरण गर्न  निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कार्यक्रम सहजीकरणका लागि सबै स्थानीय तहलाई सूचित गरिदिन चैत १३ गते सामान्य प्रशासन मन्त्रालयलाई पत्रचार गरेको थियो। 
 
यस अघि जिल्ला स्वास्थ्य र जिल्ला जनस्वास्थ्य कार्यालयले आफ्ना जिल्लामा कार्यक्रम संचालन गर्ने गर्थे। संघीयतापछि देशभरका ७ सय ५३ स्थानीय तहले यो कार्यक्रम गर्ने जिम्मेवारी पाएका छन्।