बीआरआई सम्मेलनमा भाग लिन राष्ट्रपति भण्डारी चीन प्रस्थान

बीआरआई सम्मेलनमा भाग लिन राष्ट्रपति भण्डारी चीन प्रस्थान
तस्विर सौजन्य : ratopati

बैशाख ११, काठमाडौं ।
चीनको बेइजिङमा आयोजना हुने बेल्ट एण्ड रोड (बीआरआई) को दोस्रो सम्मेलनमा भाग लिनमा लागि राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान गरेकी छन् ।

अप्रिल २५ देखि बेइजिङमा सुरू हुने बिआरआईको दोस्रो शिखर सम्मेलनका लागी ४३ सदस्य टोलीका साथ बुधबार बिहान ११ बजे नेपाल वायु सेवा निगमको विमानबाट चीन प्रस्थान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले चीनको राजकीय भ्रमणको क्रममा चिनियाँ समकक्षी सि जिन पीङसँग भेटवार्ता गर्नु हुनेछ । त्यसैगरी सन् २०१६ मा दुई मुलुकबीच गरिएको पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने कार्यसूचि तय गरिएको छ । केरुङ–काठमाडौं रेलमार्ग निर्माणको काम यसै वर्षबाट सुरु गर्ने गरी सहमति गर्ने, जनशक्ति निर्माणका लागि आवश्यक प्राविधिक विश्वविद्यालय स्थापनाका लागि पनि चीनसँग समझदारी गर्ने तयारी पनि गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, राष्ट्रपति कार्यालयका विज्ञहरु शुशीलराज प्याकुर्‍याल तथा लालवावु यादव लगाएतका ब्याक्ति रहेका छन् ।

राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदाई गरेका थिए । राष्ट्रपति भण्डारीको विदाईमा नेपाली सेनाले पनि सलामी अर्पण गरेको थियो ।

राष्ट्रपति भण्डारी चीनको राजकीय भ्रमण पूरा गरी आगामी बैशाख १९ गते बिहीबार स्वदेश फर्कन कार्यक्रम रहेको छ ।