शैक्षिक हैरानीविरुद्ध प्रहरीले थाल्यो एन्टी बुलिङ अभियान

शैक्षिक हैरानीविरुद्ध प्रहरीले थाल्यो एन्टी बुलिङ अभियान

बैशाख १३, काठमाडौं ।  
विद्यालय, क्याम्पस लगायतका शैक्षिक वातावरणमा हुन सक्ने सम्भावित अभद्र व्यवहार तथा हैरानी रोक्न नेपाल प्रहरीले एन्टी बुलिङ अभियान सुरु गरेको छ ।

नेपाल प्रहरीले 'समुदाय-प्रहरी साझेदारी' अवधारणा अन्तर्गत नयाँ शैक्षिक सत्रलाई लक्षित गर्दै शुक्रबारदेखि शैक्षिक वातावरणमा हुन सक्ने अभद्र व्यवहार र हैरानी विरुद्धको अभियान  शुरु गरेको हो । 

प्रदेश स्तरीय सुरक्षा गोष्ठीको सिलसिलामा २ नम्बर प्रदेश जनकपुरमा रहेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भिडियो कन्फेरेन्सको माध्यमबाट काठमाडौंको किष्ट कलेजमा आयोजित कार्यक्रमलाई सम्बोधन गरी राष्ट्रव्यापी रुपमा अभियान शुभारम्भ भएको घोषणा गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले समाजमा अपराध रोकथाम र नियन्त्रण गर्न तथा सुरक्षा सचेतना अभिवृद्धि गर्नको लागि समुदाय र प्रहरीको सहकार्य र साझेदारीको विकल्प नरहेको बताए। महानिरिक्षक खनालले स्कुलभित्र र बाहिरको समेत वातावरण सुरक्षित बनाउन प्रहरीले कुनै पनि कसर बाँकी नराख्ने र यसको लागि प्राज्ञिक क्षेत्रसँग सहकार्य गरेर योजनाबद्ध रुपमा अगाडि बढने प्रतिवद्धता व्यक्त गरे ।

 

एन्टी बुलिङ अभियानमा यस्ता हुनेछन् कामहरु 

१.  विद्यालयरकलेज प्रशासन र प्रहरी विद्यालय सम्पर्क समितिका सदस्य छात्र, छात्रा तथा कक्षागत मनिटरहरुको            सक्रियता र साझेदारीमा जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने ।

२.  सबै विद्यालय र कलेज, मेडिकल, ईञ्जिनियरिङ्ग अध्ययन संस्थाहरुमा समेतका सूचनापाटीहरुमा प्रहरी प्रधान           कार्यालयबाट निर्माण गरिएको जनचेतनामुलक पोष्टर टाँस्ने ।

३.  विहानीको प्रार्थना सभामा स्वयं प्रहरीको उपस्थितिमा विद्यार्थीहरुबाट जनचेतनामुलक जानकारी बाचन गर्ने ।

४.  अन्तरक्रियात्मक प्रवचनहरु सञ्चालन गर्ने ।

५.  शिक्षक र अभिभावकहरुमा समेत पर्चा, पम्प्लेट वा समुदाय-प्रहरी साझेदारीको अवधारणाले निर्दिष्ट गरेका अन्य          माध्यमहरुबाट सचेतना अभिवृद्धि गर्ने ।

६.  छात्राहरु लक्षित हिंसा तथा साइबर अपराधको बारेमा समेत सचेतना अभिवृद्धि गर्ने ।