सूचना प्रविधिको गलत उपयोग मुन्तलामा ऐजेरु पलाए जस्तै हो : प्रधानमन्त्री ओली

सूचना प्रविधिको गलत उपयोग मुन्तलामा  ऐजेरु पलाए जस्तै हो : प्रधानमन्त्री ओली
तस्विर सौजन्य : nayapatrika

वैशाख १९, काठमाडौं । 
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सूचना प्रविधिको सहि सदुपयोग गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल प्रयोगमा गलत प्रवृत्ति देखिएको बिहीबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रविधिलाई नकारात्मक कुराको प्रचार गर्ने माध्यम बनेको टिप्पणी गरे । ‘सामाजिक सञ्जाल र सूचना प्रविधिलाई गलत रुपमा उपयोग गर्नु मुन्तलामा ऐजेरु र धानमा साँवा पलाए जस्तै हो’ उनले भने, ‘त्यसकारण यस्ता प्रवृतिलाई निस्तेज पार्दै लैजानुपर्छ ।’

प्रधानमन्त्री ओलीले नेपालमा केही बर्ष अघिसम्म पनि मोबाइल चलाउनु अनौठो मानिने बताउंदै प्रधामन्त्री ओलीले अहिले यो अत्यावश्यक वस्तु भइसकेको बताए । केही बर्ष अघिसम्म हङकङमा ड्राइभरले मोबाइल चलाएको कुरा सुन्दा नेपालीहरु अनौठो मान्थे तर अहिले आफ्नै घरमा बच्चालाई मोबाइलबाट जोगाउन गाह्रो भइसक्यो’ उनले भने ।

प्रधानमन्त्री ओलीले प्रविधिलाई उत्पादनसँग जोड्नु पर्ने बताएका छन् । तर, यसको वर्तमान समयमा प्रविधिलाई नकारात्मक कुराको प्रचार गर्ने माध्यमको रुपमा प्रयोग भइरहेको उनको भनाइ छ । ‘प्रविधिलाई उत्पादन र विकाससँग जोडेर उपयोग गर्नुपर्दछ’ प्रधानमन्त्री ओलीले भने, ‘प्रविधिले छिटो र उन्नतस्तरको ज्ञान दिन सक्छ । त्यसको सदुपयोग गर्नु पर्दछ ।’