भारतबाट २३ महिलाको उद्धार

भारतबाट २३ महिलाको उद्धार

वैशाख २६, काठमाडौं ।
वैदेशिक रोजगारीको बहानामा अवैध बाटो हुँदै तेस्रो मुलुक लैजान खोजिएको २३ महिलालाई भारतको उत्तरी राज्य मिजोरमबाट बिहीबार उद्धार गरिएको छ ।

भारतीय सरकारको सहयोगमा उनीहरूको उद्धार गरी काँकडभिट्टा ल्याएर माइती नेपालको पूर्वाञ्चल क्षेत्रीय कार्यालयले जानकारी दिएको छ । 

म्यानमारसँग भारतको सीमा जोडिएको मिजोरमस्थित चम्फीबाट उनीहरूलाई उद्धार गरिएको हो । केही महिनाअघि म्यानमारसँग सीमा जोडिएको मणिपुरको मोरेबाट पनि एक सय ७८ नेपालीलाई उद्धार गरी नेपाल ल्याइएको थियो । 

मानव बेचबिखनमा संलग्न दलालले पछिल्लो समय वैदेशिक रोजगारीका बहानामा नेपालीलाई भारतको मिजोरम, नागाल्याण्ड र मणिपुरबाट म्यानमा हुँदै खाडी र दक्षिणपूर्वी एशियाली मुलुक लैजाने गरेका छन् । 

उद्धार गरेर ल्याइएका महिलालाई माइती नेपालमा राखेर थप अनुसन्धान भइरहेको छ ।