नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने १२ जना भारतीय नागरिक पक्राउ

नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने १२ जना भारतीय नागरिक पक्राउ
तस्विर सौजन्य : freshhrinsights

वैशाख २९, काठमाडौं
नेटवर्किङ व्यवसाय भन्दै ठगी गर्ने कार्यमा संलग्न १२ जना भारतीय नागरिकलाई काठमाडौं दरबारमार्गस्थित होटल याक एण्ड यतिबाट शुक्रबार वेलुकी प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा भारत ईलाहाबाद बस्ने ३१ वर्षीय मोहम्मद साईजिल, ईलाहाबाद बस्ने ३३ वर्षीय अजितकुमार सिंह, छतिसगढ बस्ने ४५ वर्षीय निरजकुमार मिश्र, उत्तरप्रदेश बस्ने ४३ वर्षीय अशोक कुमार, छत्तिसगढ बस्ने ४३ वर्षीय गिरिस उपाध्याय, सोनभद्र बस्ने ४० वर्षीय रमेश राम, गुजरात बस्ने २२ वर्षीय आयुश उपाध्याय, उत्तरप्रदेश बस्ने ३८ वर्षीय सुनिल उपाध्याय, लखनउ बस्ने ३२ वर्षीय कसिफ सकिल, सारामाईला बस्ने ३२ वर्षीय गजेन्द्रकुमार सिंह, आफूलाई साइन ग्रुपका चिफ म्यानेजिङ डाइरेक्टर बताउने नयाँदिल्ली बस्ने ४३ वर्षीय रसिद नसिम र बेङ्लोर बस्ने ३५ वर्षीय महेन्द्र सिंह रहेका छन् । 

केही भारतीय नागरिकहरूले गैह्रकानूनी रुपमा नेटवर्किङ्ग व्यवसाय गरिरहेको र त्यसमा नेपालीहरूको पनि सहभागिता रहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं, केन्द्रीय अनुसन्धान ब्यूरो र राष्ट्र बैंकका प्रतिनिधि सहित पुग्दा नेटवर्किङ व्यवसायमा लगानी गरिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीले हरुको साथबाट मोवाईल १७ थान, आईप्याड १ थान, ल्यापटप १ थान, मेमोरी कार्ड ३ थान र हार्डडिक्स १ थान बरामद गरेको छ । 

अनुसन्धानको क्रममा निज रसिद नसिम र महेन्द्र सिंह लगायतले विभिन्न विदेशी मुद्रा विनिमय गर्ने कम्पनी मार्फत रियलस्टेट डायमण्ड एण्ड गोल्ड र विदेशी मुद्रा खरिद बिक्रीमा लगानी गर्ने र कम्पनीको मुख्य कार्यालय दुवईमा तथा शाखा कार्यालयहरु लखनउ, सिंगापुर र मौरिससमा छ भनि नेटवर्किङ बिजनेस गरेको खुल्न आएको प्रहरीले जनाएको छ । 

नेटवर्किङ मार्फत १ हजार २ सय ५० अमेरिकी डलर लगानी गर्ने र त्यति नै डलर कम्पनीले राखी दुवइमा व्यक्तिको खाता खोल्ने, जिमेल आईडीको आधारमा एउटै व्यक्तिको सयौं खाता खोल्न सकिने, मासिक १५ प्रतिशत सम्म कमिशन र अन्य जति सदस्यहरू सदस्य बनाउँदै जान्छ त्यति नै लगानीकर्ताको लेभल बढ्दै माथि जाने र १ करोडसम्म लगानी एउटा व्यक्तिको मातहत जुटाएमा प्रेसिडेन्ट पद पाउने भन्ने प्रलोभन देखाइ अवैध रुपमा नेपाली पैसा विदेश पुर्‍याउने र ठगी गर्ने उद्देश्य राखेको देखिएकोले पक्राउ गरेको प्रहरीले जनाएको छ । 

साइन ग्रुपको नाममा दुवईमा कुनै मुख्य कार्यालय भएको र ३ जना नेपालीसँग १ करोड २३ लाख रुपैयाँ बराबर ठगी गरेको जानकारी प्राप्त भएपछि अन्य ठगिएका नेपाली लगानीकर्ताहरूको समेत खोजी गर्नुका साथै पक्राउ व्यक्तिहरुका सम्बन्धमा संगठित ठगी अपराध अन्तर्गत थप अनुसन्धान भईरहेको उक्त परिसरले जनाएको छ ।