सञ्चार विधेयक पास हुन दिदैनौँ : सभापति देउवा

सञ्चार विधेयक पास हुन दिदैनौँ : सभापति देउवा
तस्विर सौजन्य : रिपब्लिका

जेठ ४, बिराटनगर । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयक संसद्मा पास हुन नदिने बताएका छन् । 

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति देउवाले सरकारले संसद्मा दर्ता गरेको मिडिया काउन्सिल विधेयक कुनै पनि हालतमा पास हुन नदिने बताएका हुन् ।

'प्रेस स्वतन्त्रता र मानव अधिकार आयोगलाई कमजोर बनाउने सरकारको खेलको नेपाली कांग्रेसले कडा प्रतिवाद गर्छु' , सभापति देउवाले भने, 'बन्द हडताल गर्ने हैन, हामी सदन घेराउ गर्छौ तर विधेयक पास हुन दिदैनौं।'

पत्रकारहरू स्वयम् पनि जे पायो त्यही लेख्न नचाहने बताउँदै उनले जे पायो त्यही लेख्ने पत्रकार आफैँ समाजमा कमजोर बन्दै जाने बताए ।  संविधान विपरीत गएर प्रेसलाई अंकुश लगाउने कानुन निर्माण गर्नु गलत हुने उनले बताए।

सभापति देउवाले वर्तमान सरकार गठन भएको डेढ वर्ष बित्न लाग्दासमेत कुनै उपलब्धिमूलक काम गर्न नसकेको बरु अदालतमा, मानव अधिकार आयोग, प्रेसमा सरकारले अनावश्यक रूपमा हस्तक्षेपकारी भूमिका खेलिरहेको आरोप लगाए।