त्रिशूली बस दुर्घटना : मृत्यु हुनेको संख्या ८ पुग्यो

त्रिशूली बस दुर्घटना : मृत्यु हुनेको संख्या ८ पुग्यो
तस्विर सौजन्य : RSS

जेठ ५, काठमाडौं । 
पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ। 

झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ७ ख ४३८७ नम्बरको यात्रु बस आइतबार बिहान धादिङमा दुर्घटना बस  त्रिशूली नदीमा खसेको थियो। 

दुर्घटनामा ५ जनाको घटनास्थलमा र अन्य ३ जनाको उपचारको क्रममा निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय धादिङका प्रमुख प्रहरी निरीक्षक हेमराज घिमिरेले जानकारी दिए।

दुर्घटनामा परी मृत्यु हुनेमा काठमाडौंको थानकोट घर भएका ५१ वर्षीय राजकुमार सुवेदी, काठमाडौं चन्द्रागिरीका ३६ वर्षीय सीता थपलिया, इलामको कन्याम घर भएका २० वर्षीय विशाल गिरी, धादिङको बेनिघाट रोराङ गाउँपालिकाका ४३ वर्षीय राजन आचार्य रहेका छन्। मृत्यु भएका चारजनाको सनाखत हुन सकेको छैन।

दुर्घटनामा घाइते भएका २३ जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अन्य घाइतेको धादिङस्थित  गजुरी, आदमघाट र गल्छीका अस्पताल तथा हेल्थपोष्टहरुमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।