नेटवर्किङ व्यवसाय संचालन गरी ठगी गर्ने ८ जना प्रहरीको फन्दामा

नेटवर्किङ व्यवसाय संचालन गरी ठगी गर्ने ८ जना प्रहरीको फन्दामा

जेठ ६, काठमाडौं । 
गैरकानुनी रुपमा नेटवर्किङ व्यवसाय संचालन गरी ठगी गर्ने ८ जनालाई महानगरीय अपराध महाशाखा,टेकुबाट खटिएको प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा भारत उतरप्रदेश बस्नेहरु ३० वर्षीय महोमद जिया, ३५ वर्षीय नितिन श्रीबास्तव, ३० वर्षीय महोमद सेयाफ तथा ३२ वर्षीय तेज नारायण शुक्ला, भारत कानपुरका ४३ वर्षीय रबि तिवारी, भारत प्रयागराज बस्नेहरु ३२ वर्षीय अटल त्रिपाठी तथा ४० वर्षीय राजेश कुमार शुक्ला र भारत कुशिनगरका २९ वर्षीय नुरुलएन वारसी रहेका छन् । 
          
गैरकानुनी रुपमा नेटवर्किङ ब्यवसाय संचालन गरी ठूलो रकम ठगी गरिरहेको भन्ने सूचनाको आधारमा उक्त महाशाखाबाट खटिएको प्रहरीले ठमेलस्थित होटल बैशालीबाट महोमद जिया र नुरुलएन वारसीलाई ३३ लाख ५० हजार रुपैयाँ र काठमाडौं महानगरपालिका बबरमहलबाट अन्य ६ जनालाई नेपाली रुपैयाँ ८ लाख ५० हजार सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

साइन ग्रुप (रियल स्टेटरअपलिएन्सेस,ई-कमर्स,टुरिज्म) को नामबाट संगठित रुपमा गैरकानुनी नेटवर्किङ ब्यवसायको प्रचारप्रसार गरी रकम समेत उठाई नेपालीहरुलाई भेला जम्मा गरी हाम्रो कम्पनीमा २ हजार ५ सय, ५ हजार र १० हजार डलर जम्मा गरेमा सो बराबरको रकम कम्पनीबाट थप गरी प्रत्येक महिना सो को ६ प्रतिशत रकम थप गरी दिन्छु भनि आर्थिक प्रलोभनमा पारी कम्पनीको सदस्य समेत बनाई दिन्छु भनी गैरकानुनी नेटवर्किङको झुट्ठा प्रचारप्रसार गरी ठगीजन्य कार्य गरेको खुल्न आएको प्रहरीले जानकारी दिएकाे छ ।