सम्पादकहरुको सामूहिक वक्तव्य : मिडिया विधेयक फिर्ता लिन माग

सम्पादकहरुको सामूहिक वक्तव्य : मिडिया विधेयक फिर्ता लिन माग

जेठ ९, काठमाडौं । 
नेपालका विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक फिर्ता लिन आग्रह गरेका छन्।

बिहीबार एक प्रेस वक्तव्य जारी गर्दै २१ जना सम्पादकहरूको समुहले विधेयक लोकतान्त्रिक मूल्य मान्यता र संविधानको मर्म-भावना विपरीत रहेको भन्दै उक्त विधेयक फिर्ता लिन भनेका हुन्।

‘सरोकारवालाहरूसँग कुनै छलफल नगरी, प्रेसमाथि सरकार सर्वेसर्वा हुने गरी ल्याइएको प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक फिर्ता लिन र सरोकारवालासँगको परामर्शमार्फत यो विषय सम्बोधन गर्न हामी सम्पादकहरु सरकारसँग माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ, ‘संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता यो विधेयकले संकुचित गर्छ भन्ने हाम्रो निष्कर्ष छ ।’

संयुक्त विज्ञप्ति जारी गर्ने सम्पादकहरुमा अखिलेश उपाध्याय, अनुप काफ्ले, अमित ढकाल, अरुण बराल, कसमस विश्वकर्मा, किरण नेपाल, कुन्द दीक्षित, कृष्णज्वाला देवकोटा, गुणराज लुइँटेल, दिलभुषण पाठक, नारायण वाग्ले, पूर्ण बस्नेत, प्रकाश रिमाल, प्रतीक प्रधान, प्रशान्त अर्याल, युवराज घिमिरे, राजेन्द्र दाहाल, शिव गाउँले, सुधीर शर्मा, सुवास घिमिरे र हरिबहादुर थापा छन् ।