४९ लाख भ्रष्टाचार काण्डमा सेनाका कर्नेल बर्खास्त

४९ लाख भ्रष्टाचार काण्डमा सेनाका कर्नेल बर्खास्त

जेठ ११, काठमाडौं ।
नेपाली सेनाको उदयपुरस्थित कालिसिद्धी गणका प्रमुख सेनानी (लेफ्टीनेन्ट कर्नेल) केशवराज कार्की ४९ लाख आर्थिक अनियमिततामा मुछिएपछि बर्खास्तीमा परेका छन् ।

सेनाको समरी सैनिक अदालतले भ्रष्टाचारमा कसुर ठहर भएका कर्नेल कार्कीलाई जागिरबाट बर्खास्त गरेसँगै तीन महिनाका लागी जेल चलान गरेको हो । 

राष्ट्रपति चुरे संरक्षण आयोजना अन्तर्गतको पचास लाख रकम भ्रष्टाचार गरेको ठहर गर्दै कार्कीलाई शुक्रबार राति नै जेल चलान गरिएको छ । कार्कीविरुद्व राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको रकम अनियमितता गरेको भन्दै वैशाख २ गते उजुरी परेको थियो । 

अदालतले कार्कीलाई थुनामा राखेर कारबाही प्रक्रिया अघि बढाएको थियो । छानविनपछि प्रधानसेनापति पूर्णचन्द्र थापालाई निष्कर्ष सुनाइएको थियो । थापाबाट अदालतको फैसला सदर भएपछि शुक्रबार आदेश सुनाउदै कार्कीलाई जेल चलान गरिएको हो।

उनले हिनामिना गरेको ४९ लाख कार्कीबाट असुलउपर गर्ने गरी फैसला भएको छ ।