हाइटेन्सन लाइनको तार ट्रकले छुदा करेन्ट लाग्दा २ को मृत्यु, २ जना घाइते

हाइटेन्सन लाइनको तार ट्रकले छुदा करेन्ट लाग्दा २ को मृत्यु, २ जना घाइते
तस्विर सौजन्य : shutterstock

जेठ १३, हेटौंडा  ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरीको कोगटेखोला नजिक गुडिरहेको ट्रकले हाइटेन्सन लाइनको तार छुदा करेन्ट लाग्दा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । 

बाग्मतीको पानी प्रयोग गरी बिधुत उत्पादनको तयारीमा रहेको सिस्नेरीमा रहेको माण्डु हाइड्रोपावरका लागि विद्युतीय सामग्री बोकेर आयोजनास्थलतर्फ जाँदै गरेको ना ७ ख ९३२६ नम्बरको  ट्रकले ११ हजार भोल्टेजको हाइटेन्सन लाइनमा छुँदा ट्रकमा करेन्ट सर्ट भएको थियो ।

ट्रकमा करेन्ट सर्ट भई २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा सिन्धुलीका चालक २८ वर्षीय वीरबहादुर मगर र नुवाकोटका ३५ वर्षीय विशाल तामाङ रहेको प्रहरीले जनाएको छ । 

घटनामा सिन्धुलीका  २५ वर्षीय गोपाल रामुनी र दाङ घर भइ ललितपुर बस्ने ४५ वर्षीय महेश बस्नेत गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारको लागि काठमाडौं लगिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।