कृषिमा आत्मनिर्भर बन्न इजरायलबाट आधुनिक प्रविधि ल्याउँछौं : प्रधानमन्त्री ओली

कृषिमा आत्मनिर्भर बन्न इजरायलबाट आधुनिक प्रविधि ल्याउँछौं : प्रधानमन्त्री ओली
file photo

जेठ २२, काठमाडौं । 
प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई कृषिमा आत्मनिर्भर बनाउन इजरायलबाट आधुनिक कृषि प्रविधि ल्याउने तयारीमा सरकार रहेको बताएका छन् ।

काठमाडौँ महानगरपालिका शहरी योजना आयोगले बुधबार आयोजना गरेको ‘हाम्रो काठमाडौँ, हामी आफैँ बनाउँछौँ’, ‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा २०७५’ पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री ओलीले आधुनिक कृषि प्रविधिले मात्रै देश विकास सम्भव हुने भएकाले सरकाले उक्त प्रविधि ल्याउन लागेको बताएका हुन् ।

कसैको भरमा देश नबन्ने भन्दै उनले स्वदेशकै युवा जमातले समस्याको समाधान गर्ने आधुनिक प्रविधिसहित राज्यका सबै निकाय एक भएर विकासमा लाग्नुपर्ने बताए । उनले भने, “देशमा भएको स्रोत साधनको प्रयोग गर्नुस्, परस्परागत सोचभन्दा माथि उठेर काम गर्नुहोस्, त्यसका लागि सहयोग गर्न सरकार तयार छ ।”

कार्यक्रममा काठमाडौँ महानगरपालिका का प्रमुख विद्यासुन्दर शाक्यले देशले परिवर्तन खोजेको हुनाले त्यसका लागि तीन तहबाट युवा परिचालन गर्न आवश्यक रहेको बताए ।