काम नपाएर अब कोही नेपाली बिदेश जानु पर्दैन : प्रधानमन्त्री ओली

काम नपाएर अब कोही नेपाली बिदेश जानु पर्दैन : प्रधानमन्त्री ओली
तस्विर सौजन्य : Khabar Samridhhi

जेठ २४, भक्तपुर  । 
 प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देशमा रहेका हरेक समस्या समाधानको बाटो खोजेर अगाडि बढेको बताएका छन् । 

शुक्रबार भक्तपुरमा आयोजना भएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले काम नपाएर अब कोही विदेशिनु नपर्ने बताएका छन् । 

‘रोजगारीका लागि विदेशमा ४० लाख युवा भौतारिरहेका छन्, सरकार के हेरेर बसिरहेको छ भन्नेलाई सरकार समाधानको बाटो खोजेर अगाडि बढेको छ, यो कार्यक्रम त्यसैको एउटा नमूना हो’ उनले भने ।

राष्ट्र निर्माणको महान अभियानको एउटा दृष्टान्तको रुपमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले देशमा अब कोही पनि भोकै बस्नुपर्ने र भोकले मर्नुपर्ने अवस्थाको अन्त्य हुने दावी गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले कटुञ्जेको सवुर्ण चोकदेखि तीनधारा जाने सडक निर्माणको शुभारम्भ गर्दै कार्यक्रमसँग आबद्ध भएका युवालाई साबेललगायत उपकरण हस्तान्तरण गरेका थिए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउन ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’ ल्याएको बताउँदै चालू आर्थिक वर्षमा आंशिक रुपमा यो कार्यक्रम सञ्चालन भए पनि आगामी वर्षबाट कम्तीमा पाँच लाख बेरोजगार युवालाई व्यवस्थितरुपमा रोजगारी दिने गरी देशैभरि यो कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।