पुल शिलान्यास गर्न पुगेका यातायात मन्त्रीकै गाडी खोलामा डुब्यो

पुल शिलान्यास गर्न पुगेका यातायात मन्त्रीकै गाडी खोलामा डुब्यो
तस्विर सौजन्य : Khabarhub

जेष्ठ २७, काठमाडौं । 
पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढेको गाडी अर्जुन चौपारी गाउँपालिका–३ घट्टे दरौ खोलामा आधा डुबेको छ । 

सहरे खोलाको पुल शिलान्यास गरी फर्कने क्रममा मन्त्री चडेको बा २ झ ४०२९ नम्बरको गाडी  आधा डुबेको हो । 

खोलामा गाडी आधा डुबेपछि सुरक्षाकर्मीले मन्त्री महासेठलाई बाहिर निकालेका थिए । खोला तर्ने क्रममा गाडी डुबे पनि मन्त्रीलाई भने केही भएको छैन । खोलामा डुबेको गाडीलाई क्रेनको सहयोगमा बाहिर निकालिएको छ । खोला बढेसँगै बिग्रिएको बाटो मर्मत गरिएको छ ।

पुल शिलान्यास गर्न स्याङ्जा पुगेका मन्त्री महासेठले जुटेर विकासको काम गर्न पर्ने बताएका छन् । “सरकारले चुनावमा गरेका वाचालाई पूरा गर्न लागेको छ,” उनले भने, “सरकारले ल्याएको बजेट बारे नागरिकले राम्रोसँग जानकारी पाएका छन् ।” 

सरकारले स्याङ्जालाई विशेष ढंगले हेरेको भन्दै मन्त्री महासेठले सिद्धार्थ राजमार्गलाई चार लेनको बनाउन लागेको बताए ।