प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्कने

प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्कने
file photo

जेष्ठ ३२, काठमाडौं । 
प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कने भएका छन् । 

गत जेठ २५ गते स्वीट्जरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्री भोलि स्वदेश फर्कन लागेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

उनका अनुसार शनिबार साँझ ५ बजे स्वीट्जरल्यान्डको जेनेभाबाट कतार एयरवेजको विमानबाट स्वदेशका लागि प्रस्थान गरेका प्रधानमन्त्री ओली आइतबार बिहान १० बजेर २५ मिनेटमा काठमाडौँ आइपुग्नेछन् ।

प्रधानमन्त्री ओली स्वीट्जरल्यान्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा सहभागी भएका थिए । दुई दिन त्यहाँ बसेर प्रधानमन्त्री ओली बेलायत गएका थिए । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिएको विशेष समारोहलाई उनले सम्बोधन गरेका थिए ।

यस्तै बेलायतमा छँदा त्यहाँका प्रधानमन्त्री थेरेसा मे र राजकुमार हेनरी चाल्स अल्वर्ट डेभिड ह्यारीसँग भेटघाट गरेका थिए । यस्तै फ्रान्सको पेरिसमा रहँदा त्यहाँका प्रधानमन्त्री इडोर्ड फिलिपसँग बिहीबार प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटवार्ता गरेका थिए ।