अदालतको आदेशपछि छुटे युट्युबर प्रनेश

अदालतको आदेशपछि छुटे युट्युबर प्रनेश

असार १, काठमाडौं । 
 युट्युब भिडियोमा चलचित्र 'बिर बिक्रम २' बारे गरिएको फिल्म समीक्षालाई लिएर पक्राउ परेका युवा युट्युबर प्रनेश गौतमलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ ।

आइतबार जिल्ला अदालत, काठमाडौंले साधारण तारेखमा उनलाई छाड्न आदेश दिएको हो । अदालतको आदेशपछि गौतमलाई छाडिएको काठमाडौं प्रहरी परिसर, टेकुका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

चलचित्र वीर विक्रम २ का निर्देशक मिलन चाम्सले दिएको जाहेरीका आधारमा प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले २४ जेठमा उनलाई पक्राउ गरेको थियो ।

यसअघि तीब्र विरोध हुँदा बिहीबार राति  गौतमलाई हाजिरी जमानीमा प्रहरीले छाडेको थियो । तर, शुक्रबार विहान ६ बजे नै महानगरीय प्रहरी अपराध महाशाखामा उपस्थित भएका उनलाई पुनः हिरासतमा लिइएको थियो ।

साइबर अपराधको मुद्दा लगाइएका गौतमको पक्राउलाई लिएर सर्वसाधारण तथा नागरिक समाज विरोधमा उत्रिएका थिए ।