गैंडाको खाग सहित ३ जना पक्राउ

गैंडाको खाग सहित ३ जना पक्राउ
तस्विर सौजन्य : onlinekhabar

असार १२, काठमाडौं । 
 काठमाडौं महानगरपालिका-१७ ढल्कुबाट दुर्लभ वन्यजन्तु गैंडाको खाग र सेतो सिसाको पत्थर सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा ढल्कु बस्ने गोरखा चुमनुब्री गाउँपालिका-३ सिर्दिबास बस्ने ५३ वर्षीय लाल बहादुर गुरुङ, धादिङ  महादेववेशि थाक्रे गाउँपालिका-६ बस्ने  मकवानपुर घर भएका ३३ वर्षीय अष्ट बहादुर थिङ र धादिङ  महादेव वेशि थाक्रे गाउँपालिका-११ बस्ने  ३४ वर्षीय गोबिन्द प्रसाद मोक्तान रहेका छन् ।

उक्त स्थानमा डेरा गरी बस्ने लाल बहादुर गुरुङ लगायतका व्यक्तिहरुले दुर्लभ वन्यजन्तु गैंडाको खाग ५५ लाख रुपैयाँमा बिक्री बितरण कारोबार गरिरहेको छ भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले लालबहादुरको डेराकोठा खानतलासी गर्दा उनीहरुलाई उक्त बस्तु सहित फेला पारी पक्राउ गरेको हो । 

पक्राउ परेकाहरुलाई थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।