त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि २१ घण्टा सञ्चालन आउने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि २१ घण्टा सञ्चालन आउने
तस्विर सौजन्य : kantipur

असार १५,काठमाडौं । 
धावनमार्ग पुनस्र्थापना गर्न १४ घण्टामात्र सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि २१ घण्टा खुल्ने भएको छ ।

गत १८ चैतदेखि  करीव ४० वर्ष पुरानो धावनमार्ग मर्मत गर्न  त्रिभुवन विमानस्थल १४ घण्टा मात्र सञ्चालन गरिएको थियो । विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द थियो । यस अवधिमा त्रिभुवन विमानस्थलबाट हुने उडान अवतरण करीव २० प्रतिशतले कटौती भएको थियो ।

सोमबारबाट २१ घण्टा सञ्चालन गर्ने गरी तयारी भइरहेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । ‘अहिले धावनमार्गको काम करीब सकिएको छ’, उनले भने, ‘अब ट्याक्सी वे र अन्य काम भने वर्षाको समय सकिएपछि मात्र शुरु हुन्छ ।’

यस अवधिमा पुरानो धावनमार्गको पीच उप्काएर नयाँ बनाइएको छ । अब भने विमानस्थलको क्षमता पनि वृद्धि भएको छ । धावनमार्ग स्तरोन्नति र पुनस्र्थापना भएकाले सबै प्रकारका जहाजको उडान–अवतरण सम्भव हुने विमानस्थल कार्यालयको भनाइ छ ।

 यस आयोजनामा करीव ३ अर्ब ७८ करोड रुपैयाँ खर्च भएको छ ।