आईफा अवार्ड रोक्न सरकारलाई संसदीय समितिको निर्देशन

आईफा अवार्ड रोक्न सरकारलाई संसदीय समितिको निर्देशन

असार १७, काठमाडौं । 
संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालमा हुने भनिएको आईफा अवार्ड तत्कालै रोक्न निर्देशन दिएको छ ।

मंगलबार बसेको समिति बैठकले भदौ दोस्रो साता आयोजना हुने भनिएको अवार्ड रोक्न निर्देशन दिएको समिति सचिव सुरजकुमार दुराले जानकारी दिए ।

जनस्तरबाट ब्यापक विवादमा तानिएपछि आईफा अवार्डको कार्यक्रम रोक्न समितिले सरकारलाई निर्देशन दिएको हो । समितिमा उपस्थित सबै सांसदहरुले अवार्डको विपक्षमा भनाई राखेका थिए । सांसदहरु यसको विरोधमा उत्रिएपछि सभापतिले अवार्ड रोक्न निर्देशन दिएको सचिव दुराले जानकारी दिए । 

गत बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले काठमाडौं  महानगरपालिका सहआयोजक हुनेगरी उक्त अवार्ड कार्यक्रम गरिने बताएका थिए।

अवार्ड समारोह आयोजना गर्नका लागि सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयनका राज्यमन्त्री धनबहादुर बुढाको संयोजकत्वमा उच्चस्तरीय समिति बनाएको थियो।

समितिमा पाँच वटा मन्त्रालयका सचिव, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ र होटल एसोसिएसन अफ नेपालका प्रतिनिधि  थिए।

यो समितिले अवार्डका लागि सम्झौता, सहजीकरण, समन्वय गर्ने र कार्यक्रम नेपाल आर्मीको मुख्यालय अगाडि रहेको मैदानमा गर्ने तय भएको थियो।