बिजुली बस किन्न साझाले पायो ३ अर्ब

बिजुली बस किन्न साझाले पायो ३ अर्ब
तस्विर सौजन्य : Glocal Khabar

साउन १, काठमाडौं । 
सार्वजनिक यातायातमा बिजुली बसलाई प्रोत्साहन गर्ने उद्देश्यले ३ सय बिजुली बस किन्नका लागि साझा यातायातलाई सरकारले ३ अर्ब रुपैयाँ दिएको छ।

यसअघि प्राधिकरण गठन गरी सोमार्फत ३ सय बिजुली बस खरिद गर्ने भनिए पनि साझाले नै बस खरिद गर्ने जिम्मा पाएको हो। मन्त्रिपरिषद बैठकले नै साझालाई बिजुली बस खरिद गर्ने जिम्मा दिने निर्णय गरेको हो।

चार्जिङ क्षमता, सिट संख्यालगायतका स्पेसिफिकेसन मन्त्रालयले नै तोकेको छ। मन्त्रालयले भोलि बिहीबार पत्रकार सम्मेलन गरी यसबारे औपचारिक जानकारी दिने भएको छ।

साझा यातायातका प्रवन्धक महेन्द्रराज पाण्डेले ३ अर्ब रुपैयाँ साझालाई प्राप्त भएको जानकारी दिएका छन्। सोवापत सरकारले साझाको सेयर प्राप्त गर्नेछ।

यसअघि बिजुली बस खरिदकै लागि साझाले प्रदेश ३ सरकार, काठमाडौं महानगर र ललितपुर महानगरबाट साढे ४२ करोड रुपैयाँ प्राप्त गरेको छ। 

सरकारले आगामी ५ वर्षभित्र २० प्रतिशत विद्युतीय सवारीसाधन पुर्याउने लक्ष्य लिएको छ। निजी क्षेत्रलाई समेत विद्युतीय सवारी संचालनका लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याउने उद्देश्यले सरकारले भन्सार शुल्कमा विशेष सहुलियत प्रदान गर्ने घोषणा गरेको छ।