लोकसेवाको परीक्षा विथोल्न खोज्ने ४ जना पक्राउ

लोकसेवाको परीक्षा विथोल्न खोज्ने ४ जना पक्राउ

साउन ४, खोटाङ । 
लोकसेवा आयोगको परीक्षा विथोल्न खोजेको भन्दै प्रहरीले खोटाङमा आज बिहान चार जनालाई पक्राउ गरेको छ । 

खोटाङको दिक्तेलमा बिहान भएको आयोगको पाँचौँ तहको परीक्षा सञ्चालन भइरहेको केन्द्रमा पुगेर विथोल्न खोजेको भन्दै प्रहरीले नेपाल आदिवासी जनजाति महासङ्घ खोटाङका सचिव रवीन खम्बु, सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार र सविना अछामेलाई पक्राउ गरेको हो ।

दिक्तेल बहुमुखी क्याम्पसमा भइरहेको आयोगको परीक्षा विथोल्ने प्रयास गरेकाले तीन पुरुष र एक महिलालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले बताए । 

तर, लोक सेवा आयोग स्रोतले  प्रश्नपत्र नच्यातिएको स्पष्टीकरण दिएको छ । प्रश्नपत्र च्यात्न प्रवेश गरेकाहरू पहिले नै समातिएको उसको भनाइ छ ।

संविधानमा व्यवस्था भएको समावेशी र समानुपातिक व्यवस्था विपरीत लोकसेवा आयोगले विज्ञापन खुलाएको विरोधमा आज आह्वान गरिएको १ नम्बर प्रदेश बन्दअन्तर्गत पनि परीक्षा चलेकाे थियाे ।