तीन वर्षभित्रमा मोनोरेल संचालनमा ल्याउने काठमाडौं महानगरपालिको कार्ययोजना

तीन वर्षभित्रमा मोनोरेल संचालनमा ल्याउने काठमाडौं महानगरपालिको  कार्ययोजना

साउन ५, काठमाडौं । 
आगामी ३ वर्ष भित्र मोनोरेल संचालनमा ल्याईसक्ने कार्ययोजना काठमाडौं महानगरपालिकाले तय गरेको छ ।

काठमाडौं महानगरपालिकाले पारित गरेको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ३ वर्ष भित्र मोनोरेलको उचित व्यवस्था गरी संचालनमा ल्याउने उल्लेख गरिएको हो । काठमाडौं महानगरपालिकाको नगरसभाले हालै पारित गरेको ‘आर्थिक वर्ष २०७६/०७७' को नीति तथा कार्यक्रम’ बारे जानकारी दिन आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले फोहोरमैला व्यवस्थापन, बुद्ध पार्क निर्माण, मेघा हल निर्माण, बालाजु बाईसधाराको स्तरोन्नति, महानगर क्षेत्र भई बग्ने नदी सम्पदाहरुको सुदृढीकरण, पर्यटन पदमार्गको पनि उचित व्यवस्थापन गर्ने कार्यक्रम तय गरिएको बताए ।

त्यसैगरी काठमाडौं महानगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागि विश्व सम्पदा सूचिमा रहेका हनुमानढोका दरबार क्षेत्र, स्वयम्भू, बौद्ध र पशुपति क्षेत्रलाई पर्यटकीय हवको रुपमा विकास गर्न विशेष कार्यको थालनी पनि चालू आर्थिक वर्ष भित्रबाट सुरु गर्ने प्रतिवद्धता पनि जनाएको छ । प्रवक्ता डंगोलले प्राविधिक तथा व्यवसायिक शिक्षाको विस्तारका लागि आगामी २ वर्ष भित्र प्राविधिक विद्यालय संचालन गर्ने योजना पनि नीति तथा कार्यक्रममा समावेश गरिएको बताए ।

ज्येष्ठ नागरिकहरुलाई उपचारको उचित व्यवस्था गर्न प्रदेश र संघीय सरकारसँग सहकार्य गरेर ‘महानगर ज्येष्ठ नागरिक अस्पताल’ पनि संचालनमा ल्याउने महानगरपालिकाको योजनामा रहेको प्रवक्ता ईश्वरमान डंगोलले बताए ।