सरकारले सहुलियत दिएपछि इन्टरनेटको मूल्य तत्काल नबढ्ने

सरकारले सहुलियत दिएपछि इन्टरनेटको मूल्य तत्काल नबढ्ने

साउन ७, काठमाडौं । 
सरकारले इन्टरनेट सेवा प्रदायक कम्पनीलाई सहुलियत दिने भएपछि इन्टनेरट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेटको मूल्य तत्काल नबढाउने भएका छन् । 

यसअघि यहि साउन १ देखि मूल्य बढाउने घोषणा गरेका कम्पनीले इन्टरनेटमा विभिन्न सहुलियत दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेसँगै इन्टरनेटको मूल्य नबढ्ने भएको हो । मन्त्रिपरिषद्ले दूरसञ्चार नियमावली संसोधन गर्दै मर्मतलगायत खर्चमा सहयोग गर्ने भएपछि इन्टरनेटको मूल्य नबढ्ने भएको इन्टरनेट व्यवसायीले जनाएका छन् । 

सरकारले लगाएको थप १३ प्रतिशत दूरसञ्चार सेवा शुल्कमा सरकारले ५० प्रतिशत र व्यवसायीले ५० प्रतिशत व्यहोर्ने गरी नियमावली संसोधन भएकाले अब इन्टरनेटको शुल्क वृद्धि नहुने इन्टरनेट सेवा प्रदायक संघ (आईएसपिएन) का अध्यक्ष भोजराज भट्टले जानकारी दिए । अध्यक्ष भट्टले भने, ‘गत वर्षदेखि अड्किएको नियमावली संसोधन भएको छ, अब इन्टरनेटको मूल्य बढ्दैन ।’ 

सरकारले इन्टरनेट जडान गर्दा लाग्ने राउटरलगायतका उपकरण, इन्ट्रानेट–लिज लाइन डाटा कनेक्टिभिटी र मर्मत–सम्भार शुल्कमा दूरसञ्चार सेवा दस्तुर छुट दिने निर्णय गरेको हो ।