अवैध २५ लाख रुपैयाँसहित रौतहटबाट एकजना पक्राउ

अवैध २५ लाख रुपैयाँसहित  रौतहटबाट एकजना पक्राउ

साउन ८,  रौतहट । 
जिल्ला प्रहरी कार्यालय रौतहटको अपराध अनुसन्धान टोलीले २५ लाख रुपैयाँसहित एकजनालाई नियन्त्रणमा लिएको छ । 

गौर नगरपालिका ३ स्थित बीपी चोक नजिकैबाट गढीमाई नगरपालिका–७ का २३ वर्षीय अजमतुल्ला अन्सारीलाई २५ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

गत सोमवार गोप्य सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा अन्सारीले बोकेको झोलामा नेपाली २५ लाख रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले आज सार्वजिनक गरेको छ । बरामद भएको उक्त ठुलो रकमको अन्सारीले भरपर्दो स्रोत खुलाउन नसकेको कारण रुपैयाँसहित अनुुसन्धानको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी भूपेन्द्र खडकाले जानकारी दिए ।

आवश्ययक प्रारम्भिक अनुसन्धान पश्चात थप अनुुसन्धानका लागी अन्सारीलाई रुपैयाँसहित मंगलवार सम्पत्ति शुद्धीकरण विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाएको एसपी खडकाले बताएका छन् ।