नक्कली भारुसहित पक्राउ परेका अन्सारीको समूह जेल चलान

नक्कली भारुसहित पक्राउ परेका अन्सारीको समूह जेल चलान

साउन १४, काठमाडौं । 
नक्कली भारतीय नोटसहित पक्राउ परेका युनुस अन्सारीसहित ६ जना जेल चलान भएका छन् । 

अन्सारीसहित पक्राउ परेका उनका साला सोहल खान, चालक सुजन रानाभाट तथा पाकिस्तानी नागरिकहरु नदिन अनवार, नसिन उद्दिन र नदिया अनवार पनि जेल चलान भएका छन् ।

संगठित अपराध र खोटाचलन मुद्दमा जिल्ला अदालत काठमाडौंले उनीहरुलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो । उनीहरुलाई मंगलबारै केन्द्रीय कारागार चलान गरिएको काठमाडौं परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए । 

गत जेठ १० गते अन्सारीकाे समूहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । नक्कली भारतीय नोटसहित कतारको दोहाबाट काठमाडौं उत्रिएका ३ जना पाकिस्तानी नागरिकलाई ‘रिसिभ’ गर्न पुगेको बेला युनुस पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट सात करोड ६७ लाख नक्कली भारु बरामद गरेको थियो ।

अन्सारी आफ्ना अन्य २ जना सहयोगी खान, चालक रानाभाटसँगै नक्कली नोट लिएर आएका पाकिस्तानी नागरिकलाई रिसिभ गर्न विमानस्थल पुगेका थिए ।