त्रिवि सेवा आयोगको अध्यक्षमा पौडेल नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पौडेल नियुक्त

साउन १८, काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा शनिबार प्राध्यापक लालुप्रसाद पौडेल नियुक्त भएका छन् ।

त्रिवि भूगर्भ विभागका प्रमुख पौडेललाई प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओली उपचार लागि सिंगापुर उडनुअघि नियुक्ति दिएका हुन् ।

त्यस्तै सेवा आयोगका सदस्यमा प्राध्यापक डा. हेमराज ढकाल नियुक्त भएका छन् । उनी शिक्षा शास्त्र संकायको शैक्षिक योजना तथा व्यवस्थापन समितिका सदस्य हुन् । 

शिक्षामन्त्री तथा सहकुलपति गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन भएको ३ सदस्यीय सिफारिस समितिले उनीहरु दुई जनाको नाम सिफारिश गरेको थियो । सिफारिस समितिले अध्यक्ष र सदस्यको नाम दिएपछि प्रधानमन्त्रीले नियुक्ति दिने निर्णय गरेका हुन्।

शनिबार नाम सिफारिश गरे लगत्तै उनीहरुलाई नियुक्ति दिइएको हो ।  तत्कालीन अध्यक्ष, सदस्य र प्रशासकीय प्रमुख सहित १० जना विरुद्ध कर्मचारी भर्नामा अनियमितिता गरेको आरोपमा अख्तियारले मुद्दा चलाएपछि झण्डै एकमहिनादेखि सेवा आयोग पदाधिकारी विहीन बनेको थियो ।

शिक्षामन्त्री पोखरेलको अध्यक्षतामा गत साउन १४ गते भौतिक शास्त्र केन्द्रीय विभागका प्रमुख प्राध्यापक डा. विनिल अर्याल र व्यवस्थापन संकायका डीन प्राध्यापक डा. डिल्लीराज शर्मा सदस्य रहेको सिफारिस समिति गठन भएको थियो ।