उजुरी परेपछि गण्डकी अस्पतालमा अख्तियारको छापा

उजुरी परेपछि गण्डकी अस्पतालमा अख्तियारको छापा

साउन १९, काठमाडौं ।
पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)मा अख्तिायारको टोलीले छापा मारेको छ । 

गण्डकी अस्पतालको एमआरआई मेसिन खरिद र सामाजिक सेवा इकाइ सञ्चालनमा आर्थिक अनियमितता भएको उजुरीपछि अख्तियारको टोलीले आइतबार अस्पतालमा छापा मारेको हो । अख्तियारको टोलीले अस्पतालबाट केही कागजात पनि नियन्त्रणमा लिएको छ । अस्पतालले गएको साल नै खरिद गरी करिब ७ महिना अगाडि नै एमआरआई मेसिन सञ्चालन गरेको थियो । मेसिन खरिद र सामाजिक इकाई सञ्चालन गर्न आर्थिक लेनदेनका आधारमा जिम्मा दिइएको उजुरीका आधारमा अख्तियारले छानबिन थालेको हो । 

अस्पताल व्यवस्थापन समितिलाई बाइपास गरेर मूल्यांकन समितिले आर्थिक प्रलोभनमा सामाजिक सेवा सञ्चालनको जिम्मा असल छिमेकी सहयोगी संस्था गोनेसालाई दिइएको उजुरीमा उल्लेख छ । डा। नरेन्द्रबिक्रम गुरुङको संयोजकत्वमा गठित मूल्यांकन समितिले आर्थिक लेनदेन गरेर अनियमित ढैगले गोनेसालाई इकाई सञ्चालनको जिम्मा लगाइएको आरोप छ । 

अनियमितताबारे उजुरी र अन्य सूचनाका आधारमा अस्पतालको कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेको अख्तियार अनुसन्धान आयोग पोखराका सूचना अधिकारी मेघनाथ रिजालले बताएका छन् ।