दुई वर्ष भित्रमा जुम्लामा केन्द्रीय प्रसारण लाइन

दुई वर्ष भित्रमा जुम्लामा केन्द्रीय प्रसारण लाइन
तस्विर सौजन्य : onlinekhabar

साउन २३, काठमाडौँ ।
सरकारले आगामी दुई वर्षभित्र जुम्लामा केन्द्रीय प्रसारण लाइनमार्फत विद्युत् सेवा उपलब्ध गराउने भएको छ । 

जुम्लाका सांसद गजेन्द्रबहादुर महतले जुम्लामा विद्युत् सेवा नभएका कारण जनजीवन प्रभावित भएको सरकारको ध्यानाकर्षण गराएका थिए ।

जनप्रतिनिधिले उठाएको प्रश्नको बिहीबार प्रतिनिधिसभाको बैठकमा जवाफ दिँदै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जुम्लामा प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुर्याउने प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिए ।

मन्त्री पुनले जुम्लामा केन्द्रीय प्रसारण प्रणालीमार्फत विद्युत् सेवा पुर्याउन आवश्यक प्रक्रिया सुरु भइसकेको जानकारी दिए । उनले सुर्खेतबाट ८१ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको उल्लेख गर्दै ठेकेदारले सर्वेक्षण अन्तिम चरणमा पुर्याएको र आगामी दुई वर्षभित्र राष्ट्रिय ग्रीड पुर्याउने लक्ष्यका साथ काम भइरहेको बताए ।

राष्ट्रिय ग्रीड नपुगेसम्म तत्कालका लागि अस्थायीरुपमा कालीगण्डकी जलविद्युत् आयोजनाको ३०० केभीए क्षमताको डिजेल जेनेरेटर जुम्ला लैजान आवश्यक प्रक्रिया सुरु गरिएको मन्त्री पुनको भनाइ छ । केन्द्रीय प्रसारण लाइनको अभावमा जुम्लामा हाल सञ्चालनमा रहेको एक लघु जलविद्युत् आयोजना बन्द भएका कारण स्थानीयवासी प्रभावित भएका छन् ।