सैनिक कल्याणकारी कोषमा ४४ अर्ब रुपैयाँ

सैनिक कल्याणकारी कोषमा ४४ अर्ब रुपैयाँ

साउन २४, काठमाडौं ।

सैनिक कल्याणकारी कोषको नगद मौज्दात ३८ अर्ब ५७ करोड ६० लाख रुपैयाँ पुगेको छ । कोषमा विसं २०७५ असार मसान्तमा नगद मौज्दात ३५ अर्ब ७७ करोड २४ लाख रुपैयाँ रहेकामा त्यसपछिको अवधिमा दुई अर्ब ८० करोड ३६ लाख रुपैयाँ वृद्धि भएको कोषद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कोषअन्तर्गत विभिन्न निकायमा असारसम्ममा भएको पाँच अर्ब ६४ करोड ३० लाख ४० हजार रुपैयाँ लगानीसमेत समावेश गर्दा कोषको यथार्थ सम्पत्ति ४४ अर्ब २१ करोड ९० लाख ४० हजार रुपैयाँ पुगेको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिए ।


कोषको मुख्य आयस्रोतका रुपमा शान्ति सेनामा भाग लिएबापत प्राप्त हुने रकम, बैंक तथा वित्तिय संस्थामा निक्षेप गरिएको रकमबाट प्राप्त ब्याज र सेनाद्वारा सञ्चालित विद्यालय एवं कलेजबाट प्राप्त हुने शिक्षण शुल्क रहेका छन् । कल्याणकारी कोषले जोखिममा परेको रकम घटाएर पाँच करोड रुपैयाँबाट घटाएर दुई लाख ६६ हजार रुपैयाँमा झारेको छ । यसअघि जोखिममा रहेको रकम ८५ करोड रुपैयाँको हाराहारीमा थियो । कोष र अन्तर्गतका निकायको ५० करोड २३ लाख ८६ हजार रुपैयाँ बेरुजु रहेकामा अघिल्लो वर्ष नै ३० करोड ४० लाख ७३ हजार रुपैयाँ फछ्र्योट भएको र बाँकी पनि फछ्र्योटका क्रममा रहेको सो अवसरमा जानकारी दिइयो ।

कोषको मूल धनमा प्राप्त हुने ब्याजबाट हिताधिकारीको शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतमा लगानी हुने गरेको छ । नेपाली सेनाले शान्तिस्थापनाका लागि संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति सेनामा सहभागी भएबापत प्राप्त एक करोड २४ लाख एक हजार रुपैयाँबाट विसं २०३२ मा ‘बहुजन हिताय, बहुजन सुखाय’ को सोच राखी सो कोष स्थापना गरेको थियो ।

उक्त कोषको रकम मुलुकका विभिन्न २८ भन्दाबढी 'क' वर्गका बैंक तथा वित्तिय संस्थामा निक्षेप रहेको जानकारी दिइयो । सेनाले कल्याणकारी कोषमाफर्त सञ्चालन भएका कार्यक्रमबाट राज्यलाई वार्षिकरुपमा ४५ करोड रुपैयाँ राजश्व दिँदै आएको बताइएको छ ।

उक्त कोषमार्फत सञ्चालनमा रहेका विद्यालय तथा महाविद्यालयको नतिजा अन्य शिक्षण संस्थानको तुलनामा अब्बल रहेको सेनाको जिकिर छ । -रासस