रहिनन् बरिष्ठ अभिनेत्री सुभद्रा अधिकारी

रहिनन् बरिष्ठ अभिनेत्री सुभद्रा अधिकारी

साउन ३२, काठमाडौँ ।

बरिष्ठ अभिनेत्री तथा नाट्यकर्मी सुभद्रा अधिकारीको ७३ वर्षको उमेरमा निधन भएको छ ।

२०२१ सालमा कृष्णप्रसाद अधिकारीसँग प्रेम विवाह गरेकी उनको पहिलो नाट्य अभिनय ‘कची मचा’ थियो । यसपछि उनले नाट्य अभिनयमा लामो समय विताइन् । बालकृष्ण समको निर्देशनमा ‘भक्त प्रह्लाद’, ‘बुहार्तन’, ‘नालापानी’ लगायत धेरै नाटकहरुमा उनले अभिनय गरेकी थिइन् ।

उनले पहिलो पटक नायिका भएर काम गरेको नाटक जगतमर्दन थापाको ‘पलाँसको फूल’ थियो । निर्देशक प्रकाश थापा निर्देशित फिल्म ‘मनको बाँध’ उनी अभिनीत पहिलो फिल्म हो । यसमा उनले हरिप्रसाद रिमालको पत्नीको भूमिका निभाएकी थिइन् । यो फिल्म गर्दा उनी २२ वर्षकी थिइन् ।

उनले ‘कन्यादान’, ‘भाउजु’, ‘स्वर्ग’, ‘चिनो’, ‘कर्जा’, ‘मंगलसुत्र’, ‘आमा’, ‘आमाको माया’, ‘बाटो मुनीको फूल’, ‘बेहुली’, ‘मुना मदन’, ‘मसान’ लगायत दर्जनौं फिल्ममा काम गरेकी छन् ।

लामो समयदेखि दमको रोगी अभिनेत्री अधिकारीको शनिबार बिहान ८ बजे आफ्नो निवास डल्लुमा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए । स्वर्गीय अधिकारीको शनिबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार संघले बताएको छ ।