एसिया प्रशान्त क्षेत्रका हवाई महानिर्देशकको सम्मेलन काठमाडौंमा सुरु

एसिया प्रशान्त क्षेत्रका हवाई महानिर्देशकको सम्मेलन काठमाडौंमा सुरु
तस्विर सौजन्य : RSS

भाद्र २,काठमाडौं ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को एसिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरुको ५६ औँ सम्मेलन काठमाडौँमा सोमबारदेखि सुरु भएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका ४६ देशका ३९० विदेशी पाहुना (विदेशी उच्च अधिकारी) को सहभागिता रहेको छ । सम्मेलनमा आईकाओ काउन्सिलका अध्यक्ष तथा प्रशान्त क्षेत्रका क्षेत्रीय निर्देशक, अन्य उच्च पदस्थ पदाधिकारीहरुलगायत एसिया प्रशान्त क्षेत्रका अन्तर्राष्ट्रिय नागरिक उड्डयनसँग सम्बद्ध १४ संस्थाको प्रतिनिधित्व छ ।

सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको हवाई क्षेत्रको सुरक्षा सुदृढीकरण, पूर्वाधार विकास र क्षमता अभिवृद्धिका लागि आगामी रणनीति तय गर्न सम्मेलन उपयोगी हुने बताए । उनले विश्वकै संवेदनशील हवाई क्षेत्रको बृहत्तर विकास, सो क्षेत्रमा आएका आधुनिक प्रविधि र नव प्रवर्तनका विश्वव्यापी आयामलाई आत्मसाथ गरेर गुणस्तरीय हवाई सेवा अभिवृद्धि गर्नेतर्फ सामूहिक प्रयासको खाँचो औंल्याए ।

प्रधानमन्त्री ओलीले नेपालजस्तो हिमाल, पहाड र तराईको भौगोलिक संयोगयुक्त मुलुकका लागि सम्पर्क सञ्जाल विस्तार अति अपरिहार्य विषय भएको उल्लेख गर्दै भू–धरातलीय विशिष्टता, मौसमी अवस्था आदि संवेदनशीलतालाई समेत मध्यनगर गर्दै हवाई सुरक्षा, सेवा गुणस्तर र दीर्घकालीन सुधारका सामूहिक कार्यक्रम तयार गरिनुपर्नेमा जोड दिए ।

मुलुकको हवाई संवेदनशीलतालाई मध्यनजर गर्दै सरकारले नीतिगत सुधार, पूर्वाधार विकास, उच्चतम प्रविधिको प्रयोग र सेवा स्तरीकरणलाई विशेष प्राथमिकताकासाथ अघि बढाएको प्रधानमन्त्रीको भनाइ थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हवाई सुरक्षा सुधारको क्षेत्रमा नेपालले पछिल्लो समय उल्लेख्य प्रगति गरेको बताउँदै यसलाई आगामी दिनमा थप प्रभावकारी बनाउन पहलकदमी भइरहेको उल्लेख गरे ।हवाई उड्डयनको क्षेत्रमा नीतिगत सुधारको काम अघि बढाइएको र आईकाओको चासो अनुरूप प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायको रूपमा स्थापित गर्न कानून निर्माणको चरणमा रहेको मन्त्री भट्टराईले जानकारी दिए । रासस