पूर्वसांसद डीबी कार्की पक्राउ

पूर्वसांसद डीबी कार्की पक्राउ

भदौ १९, काठमाडौं । 
तत्कालीन नेकपा एमालेका सभासद् डोलबहादुर (डीबी) कार्की पुनः पक्राउ परेका छन् । घुस लिएको अभियोगमा सर्वोच्च अदालतले ६ महिना कैद र १ लाख जरिवानाको सजाय सुनाइएका कार्कीलाई बिहीबार प्रहरीको  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।

घुस लिएको अभियोगमा स्याङ्जाका कार्कीलाई सर्वोच्च अदालतले गत असार २४ गते जेल सजयासहित जरिवानाको फैसला गरेको थियो ।

कार्की पहिलो संविधानसभामा तत्कालीन नेकपा एमालेको तर्फबाट संविधानसभा सदस्य थिए । उनले नेपाल प्रहरीको निरीक्षक (इन्सपेक्टर) भर्ना गरिदिने भन्दै १ लाख रुपैयाँ घुस लिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६७ फागुनमा कार्की र उनका सहयोगी स्वामी ब्रह्मानन्द उदासिनलाई प्रहरीको इन्सपेक्टर बनाइदिन्छु भन्दै पैसा असुलिरहेका बेला १ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको थियो । कार्की काठमाडौंको भिमसेनगोलास्थित आफ्नै घरबाट पक्राउ परेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्की्विरुद्ध १ लाख रुपैयाँ घुस लिएको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतले कार्की्विरुद्ध १ लाख रुपैयाँ जरिवाना र ६ महिना कैदको सजाय सुनाएको थियो ।