सोमबारबाट काठमाडौंमा विद्युतीय बस सञ्चालनमा आउने

सोमबारबाट काठमाडौंमा विद्युतीय बस सञ्चालनमा आउने

भदौ २२, काठमाडौं । 
काठमाडौं उपत्यकामा सोमबारबाट विद्युतीय बस सञ्चालनमा आउने भएको छ ।

दिउँसो १ बजेदेखि चीनबाट ल्याएका दुई विद्युतीय बसमार्फत सेवा सुरु गर्न लागिएको सुन्दर यातायातले जानकारी दिएको छ।सुन्दर यातायात प्रालिले थप ५ वटा ल्याउने प्रक्रियामा रहेको जनाएको छ। सुन्दर यातायातले सञ्चालन गर्ने विद्युतीय बसले चक्रपथ परिक्रमा गर्नेछ।

विद्युतीय बसलाई काठमाडौंको चक्रपथ परिक्रमा गर्ने गरी रुट अनुमति दिइएको छ । यो वर्षभत्रै कम्पनीले २५ वटा बस काठमाडौंमा चलाउने गरी प्रक्रिया अघि बढाइएको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए। बस ४० सिट क्षमताका छन्। कम्पनीले फरक–फरक रुटमा चलाउन सकिने गरी ३ किसिमका बस ल्याउने तयारी गरेको छ।

कम्पनीले विद्युतीय बसलाई ४० मिनेटमा चार्ज गर्न सकिने दाबी गरेको छ। त्यसका लागि फास्ट चार्जिङ मेसिन ल्याइने छ। हाल कम्पनीको भत्केको पुलमा रहेको चार्जिङ स्टेसनमा २ घन्टामा फूल चार्ज हुने मेसिन जडान गरिएको छ।