नौ बुँदे घोषणापत्रसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न

नौ बुँदे घोषणापत्रसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न

असोज २८, काठमाडौं । 
दलित समुदायको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने र सम्बन्धित देशमा जातीय छुवाछुत कानून बनाउन पहल गर्नेलगायत ९ बुँदे घोषणापत्र जारी गर्दै ‘जातीय विभेद अन्त्यका लागि प्रवासी नेपालीको भूमिका’ विषय दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन मंगलबार सम्पन्न भएको छ ।

नासो कम्युनिटी युएसए र जातीय विभेदविरुद्ध विश्वमञ्च युएसएलगायतका संघसंस्थाद्वारा काठमाडौँमा आयोजित सो सम्मेलनले भूमण्डलीकरण र बसाइँसराइसँगै विश्वव्यापी भएको जातीय विभेदविरुद्ध संसारभरि रहेका नेपाली दलित समुदायले संगठित र संयुक्त रुपमा अभियान गर्नुपर्ने ठहरसमेत गरेको छ ।
“प्रवासमा रहेका दलित समुदायले संगठित वा असंगठित रुपमा नेपालको दलित मुक्ति आन्दोलनलाई सहयोगी भूमिका निर्वाह गरिरहेका छन्, प्रवासमा भएका दलित संगठन र जनशक्तिलाई नेपालको दलित आन्दोलनले रणनीतिक र कार्यनीति रुपमा परिचालन गर्नुपर्छ”, घोषणापत्रमा भनिएको छ ।

सम्मेलनले दलित समस्या अन्तर्राष्ट्रिय समस्या भएको भन्दै त्यसलाई संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय मानव अधिकार संयन्त्रलगायत अन्तर्राष्ट्रियस्तरमा पैरवी गर्ने घोषणा गरेको छ । सम्मेलनले नेपालको विकासमा काम गर्ने अन्तर्राष्ट्रिय निकायलाई दलित समुदायको उत्थान र विकासका लागि ठोस नीति तथा कार्यक्रम तय गरी कार्यान्वयन गर्नका लागि अनुरोध पनि गरेको छ ।

युवा तथा खेलकुदमन्त्रीले उद्घाटन गरेका सो सम्मेलनमा दलित अधिकारकर्मी डा। विष्णुमाया परियार र डा। निर्मला विश्वकर्मा र डा। निर्मल विश्वकर्मा लगायतले दलित आन्दोलनको अबको बाटो, दलित समुदायको अधिकार, वर्तमान अवस्था लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।-रासस