'नाम' सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली बिहीबार अजरबैजान जाने

'नाम' सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली बिहीबार अजरबैजान जाने
file photo

कार्तिक ३, काठमाडौं । 

 प्रधानमन्त्री केपी शर्मा ओली यही कात्तिक ८ र ९ गते अजरबैजानको बाकुमा आयोजना हुने 'असंलग्न आन्दोलन' (नाम) राष्ट्रहरुका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरुको १८औँ शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुने भएका छन् ।

 

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु सहभागी हुने परराष्ट्र मन्त्रालयले आज जनाएको छ ।

प्रधानमन्त्री ओलीले कात्तिक ९ गते शनिबार नाम शिखर सम्मेलनअन्तर्गत हुने उच्चस्तरीय छलफलमा भाग लिई ‘समसामयिक विश्वका चुनौतीहरुलाई एकीकृत तथा पर्याप्त मात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि असंलग्न आन्दोलनका बाङडुङ सिद्धान्तको अनुपालन’ विषयमा सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री ओली अजरबैजानका राष्ट्रपति इलहाम अलिएभले सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका राष्ट्रध्यक्ष/सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा सरिक हुनेछन् । प्रधानमन्त्री ओलीले नाम सम्मेलनका सन्दर्भमा बाकुमा रहँदा विभिन्न देशका प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ताहरु गर्ने कार्यक्रम रहेको छ ।