कास्कीमा साझा पार्टीकी उम्मेदवार रजनी केसी

कास्कीमा साझा पार्टीकी उम्मेदवार रजनी केसी

कात्तिक ६, काठमाडौं ।

साझा पार्टीले कास्की निर्वाचन क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनमा रजनी केसीलाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।

साझा पार्टीले बुधबार पत्रकार सम्मेलन गरी केन्द्रीय सदस्य केसीलाई उम्मेदवार बनाउने घोषणा गरेको हो ।

पार्टी प्रवक्ता डा.सूर्यराज आचार्यले मंगलबार र बुधबार पोखरामा बसेको केन्द्रीय समिति बैठकले केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको बताए ।

केसीले बुधबार नै ५ बुँदे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गदैै निर्वाचित भए सांसदले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत पाउने ६ करोड रुपैयाँ नलिने घोषणा गरिन् । ‘म सांसदको हैसियतमा हरेक सांसदलाई ‘ठेकेदार’को तहमा झार्ने गरी प्रति वर्ष ६ करोड रुपैयाँ दिने निर्णयको जोडदाररुपमा भर्त्सना गर्नेछु,’ उनले भनिन् । 

साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले उपनिर्वाचनमा विजयी भएर कास्कीबाट परिवर्तनको विगुल फुक्ने बताए । ‘कास्कीको उपनिर्वाचनलाई हामीले ठूलो महत्व दिएका छौं,’ उनले भने, ‘मुलुकको राजनीतिमा नयाँ सन्देश दिने जिम्मेवारी यहाँका मतदाताको हातमा छ ।’