चिनियाँ आपराधिक गिरोहविरुद्ध प्रहरीको सर्च अपरेशन, ९७ चिनियाँ पक्राउ

चिनियाँ आपराधिक गिरोहविरुद्ध प्रहरीको सर्च अपरेशन, ९७ चिनियाँ  पक्राउ
तस्विर सौजन्य : द हिमालयन टाइम्स

७ पुस, काठमाडौं ।
महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा रहेर अपराधिक गतिविधिमा संलग्न ९७ जना चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको छ । 

काठमाडौंस्थित चिनियाँ दूतावासको सहकार्यमा विशेष सर्च अपरेशनका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको टोलीले सोमबार बिहानदेखि काठमाडौंको मनमैजु, बाँसबारी, ठमेललगायत क्षेत्रमा छापा हानी चिनियाँ नागरिकलाई पक्राउ गरिएको जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु विभिन्न प्रविधिको प्रयोग गरी बैंक ह्याकिङ लगायत अवैधानिक गतिविधिमा संलग्न थिए । एक प्रहरी अधिकारीले भने "उनीहरुले नेपाललाई आधार बनाएर अन्य देशविरुद्ध समेत ह्याकिङ गर्ने गरेको देखिएको छ ।"

प्रहरीले उनीहरुको साथबाट ह्याकिङमा प्रयोग हुने उपकरण, केही ल्याटपट, मोबाइलसहितका विद्युतीय सामग्री बरामद भएको जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

पछिल्लो समय नेपालमा हुने सुन तस्करीदेखि बैंक ह्याकिङसम्मका घटनामा चिनियाँ नागरिककाे संलग्नता बढ्दो देखिएको छ ।