स्वतन्त्र विज्ञबाट मूल्यांकन गराएर गोकर्ण रिसोर्टको म्याद थप गरिएको हो : प्रधानमन्त्री ओली

स्वतन्त्र विज्ञबाट मूल्यांकन गराएर गोकर्ण रिसोर्टको म्याद थप गरिएको हो : प्रधानमन्त्री ओली

१३ पुस, काठमाडौं । 
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ट्रस्ट मातहत रहेको गोकर्ण रिसोर्ट र त्यसले चर्चेको जग्गा यति समूहलाई थप २५ वर्षका लागि लिजमा दिने सरकारको निर्णय कानुनसम्मत रहेको दाबी गरेका छन् ।

सत्तारूढ नेकपाका अध्यक्षसमेत रहेका ओलीले शनिबार पार्टीनिकट प्रेस संगठन नेपालका पदाधिकारीहरूको शपथग्रहण कार्यक्रममा बोल्दै यति समूहको लिज अवधि ५ वर्ष ८ महिना बाँकी छँदै थप गर्ने ‘विवादास्पद’ निर्णयको बचाउ गर्दै भने, स्वतन्त्र विज्ञबाट मूल्यांकन गराएर गोकर्ण रिसोर्टको म्याद थप गरिएको हो।

‘पहिला हचुवाको भरमा मूल्य राखेर कौडीको भाउमा लिजमा दिने प्रवृत्ति थियो । अहिले स्वतन्त्र विज्ञबाट मूल्यांकन गराएर मूल्य तोकी लिजको अवधि थपिएको हो, त्यो निर्णय कानुनसम्मत छ,’ उनले भने ‘अवधि बाँकी रहँदै कि सरकारले गोकर्ण रिसोर्ट नचलाउने भन्नुपर्‍यो, कि अरू केही गर्नुपर्‍यो । जब लिजमा लिएकाले थप प्रगति गर्छु, आकर्षक ढंगले सरकारलाई कर तिर्छु भन्छ भने म्याद थप नपाउने भन्ने हुँदैन ।’

सरकारले गोकर्ण रिसोर्ट र त्यसले चर्चेको २ हजार ७ सय ९३ रोपनी जग्गा थप २५ वर्ष यति समूहलाई लिजमा सञ्चालन गर्न दिएको हो । बिनाप्रतिस्पर्धा सोझै र कम भाडामा लिजमा दिएको भनेर सरकारको चौतर्फी विरोध भइराखेको छ ।