किताब लगाइएको करको विरोध गर्ने विद्यार्थीहरू पक्राउ

किताब लगाइएको करको विरोध गर्ने विद्यार्थीहरू पक्राउ
तस्विर सौजन्य : Sachin Timalsena (facebook)

१६ फागुन, काठमाडौँ।
किताबमाथि सरकारले लगाएको करविरूद्ध सिंहदरबारअगाडि आन्दोलनमा उत्रेका प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। 

शुक्रबार सिंहदरबार पश्चिम गेटअगाडि प्रदर्शन गरिरहेका विद्यार्थीको टोलीलाई प्रहरीले पक्राउ गरेको हो।

करिब १५ जना विद्यार्थी शुक्रबार दिउँसो साढे तीन बजेतिर सिंहदरबार अगाडि उभिएका थिए। उनीहरूले ब्यानर देखाउँदै किताबमाथिको कर खारेज गर र अर्थमन्त्री कहाँ छौ, हामी बहस गर्न तयार छौुं भन्दै नारा लगाए। 

विदेशबाट आयात हुने किताबमा दस प्रतिशत कर लगाउने सरकारी नीतिविरूद्ध उनीहरूले प्रदर्शन गरेका हुन्। सरकारले किताबमा कर लगाएसँगै बजारमा पाठ्यक्रम सम्बन्धी र अंग्रेजी साहित्यका किताब बजारमा अभाव भएको भन्दै उनीहरू आन्दोलन गरिरहेका छन्।

सञ्चारमन्त्रीको समेत जिम्मेवारी पाएका अर्थमन्त्री युवराज खतिवडाले बिहीबार किताबमाथिको कर ठीक भएको भन्दै यसमा बहस गर्न तयार रहेको बताएका थिए।

विद्यार्थीहरूले सरकारले आफ्नो आवाज नसुनेको र आफूहरूसँग कुनै विकल्प नभएको भन्दै सिंहदरबार गेटअगाडि फेरि आन्दोलन गरेको बताएका छन्।