लिपुलेक, लिम्पियाघुरा, कालापानीसहितको नेपालको नयाँ नक्सा सार्वजनिक

लिपुलेक, लिम्पियाघुरा, कालापानीसहितको नेपालको नयाँ नक्सा सार्वजनिक

काठमाडौं, ७ जेठ । 
भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाघुरा,  कालापानीसहितको अध्यावधिक नेपालको नयाँ नक्सा सार्वजनिक भएको छ।

बुधबार आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय आयोजित एक कार्यक्रममा भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपालको नयाँ नक्सा सार्वजनिक गरेकी हुन्।

"नेपालको अद्यावधिक (राजनितिक र प्रशासनिक) नक्सा सार्वजनिक गर्ने यो सुनौलो अवसर यो युगको सर्वाधिक स्मरणीय क्षणका रुपमा मैले लिएको छु" मन्त्री अर्यालले भनिन, "नेपालमा मात्र होइन सिंगो विश्व मानचित्रमा नेपालको मानचित्र बदलिएको छ, यसले नेपालीको मन पनि बदलिएको छ ।"

सार्वजनिक गरिएको राजनीति तथा प्रशासनिक नक्सामा ७ सय ५३ वटा स्थानीय तह, सातवटा प्रदेश र अन्तर्राष्ट्रिय सीमानाहरु पनि समेटिएका छन् । सरकारले नेपाल र नेपालीको सिर झुक्न नदिने उल्लेख गर्दै नक्सा प्रयोग हुने सम्पूर्ण सरकारी दस्तावेज र पाठ्यपुस्तकमा नयाँ नक्सा प्रयोग गर्न पनि मन्त्री अर्यालले आग्रह गरेकी छन् ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रस्तुत गरेको नक्सा स्वीकृति गरेको थियो।