पद्धति मिचेर आईओएमको डिनमा दिव्यासिंह शाह नियुक्त

पद्धति मिचेर आईओएमको डिनमा दिव्यासिंह शाह नियुक्त

असार ४, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले  चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डिनमा पद्धति मिचेर शिक्षण अस्पताल महाराजगन्जको मिर्गौला विभाग प्रमुख तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक  प्रा. डा. दिव्यासिंह शाहलाई नियुक्ति गरेको छ ।

जेठ २२ मा प्रा. डा. जगदीश अग्रवालले उमेर हदका कारण डिनबाट अवकाश पाएपछि रिक्त डिन पदमा डिन नियुक्ति गर्न डा. प्रेमराज ज्ञवालीको संयोजकत्वमा ३ सदस्यीय सिफारिस कमिटी गठन गरेको थियो । डिन नियुक्त गर्न सिफारिस कमिटीले क्रमश डा. प्रदीप वैद्य, डा. शाह र उत्तम श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

एक नम्बरमा नाम सिफारिस भएका वैद्यलाई पन्छाएर दुई नम्बरमा नाम सिफारिस गरिएकी शाहलाई नियुक्ति दिइएको छ । राज्यमन्त्रीसरहको सुविधा लिने शाह अध्यापकहरूको वरिष्ठता क्रमअनुसार उनी ३३ औं नम्बरमा पर्छिन् ।

विश्वविद्यालय स्रोत सिफारिस समितिका पदाधिकारीहरूकै भूमिकामा गम्भिर प्रश्न उठेको छ । स्रोतको अनुसार आफु अनुकूल नियुक्ति गर्ने हाल विश्वविद्यालयको सेवाबाहिर रहेका डा. प्रेम ज्ञवालीलाई सदस्य बनाइएको हो छ भने अर्का सदस्य डा, जीवन शेरचन पनि अवकाश पाइसकेका व्यक्ति हुन् ।

२०६७ पछि डा. गोविन्द केसीको पटकपटकको आन्दोलनका कारण आईओएममा वरिष्ठताका आधारमा डिन नियुक्ति हुँदै आइरहेको थियो। केसीले दुई साताअघि पनि विज्ञप्ति जारी गरेर वरिष्ठताका आधारमा डिन नियुक्ति गर्न आग्रह गरेका थिए ।

यता मेडिकल विद्यार्थी एसोसिएसनले पनि राजनीतिक चलखेल, निकटता र भागबन्डाका आधारमा डिन नियुक्ति गरिएको भनेर आपत्ति जनाएको छ । एसोसिएसनले विज्ञप्ति निकालेर वरीयता मिचेर डिन नियुक्त गरिनु लज्जास्पद भएको बताएको छ ।