प्रधानमन्त्रीको दुखेसो : प्रतिरोधी क्षमता बढाउन बेसारको कुरा गर्दा उडाए

प्रधानमन्त्रीको दुखेसो : प्रतिरोधी क्षमता बढाउन बेसारको कुरा गर्दा उडाए

७ असार, काठमाडौं । 
प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले बेसार, अदुवा, मेथीजस्ता मसला औषधिमय भएको कुरा पूर्वज ऋषिमुनी र आयुर्वेदको खोज तथा प्रयोगबाट प्रमाणित भएकाले तिनको प्रयोग बढाउन आग्रह गरे।

‘मैले शरीरको प्रतिरोधी क्षमता बढाउने सन्दर्भमा ती कुराहरु गरेको हुँ, तर कतिपय बुद्धिजीवीले बेसारको मजाक उडाए, कतिले मेथी, मरिच र कतिले अदुवाको मजाक उडाए । म उहाँहरुलाई सुझाव दिन चाहन्छु, पूर्वजका खोजहरुप्रति यसरी मजाक नउडाऊ,’ प्रधानमन्त्री ओलीले भने, ‘आयुर्वेद र योग हाम्रा असाधारण औषधि हुन् । यिनीहरुलाई अगाडि बढाऔँ ।’

प्रधानमन्त्री ओलीले नेपाली भूभागबाट उत्पत्ति, प्रयोग र विकास हुँदै आएको योग आज विश्वव्यापी भएको जनाउँदै यसले नेपालको इतिहास, सभ्यता र गौरवलाई झल्काउने बताए । 

‘व्यायाम, प्राणायम र ध्यान मिलेपछि पूर्ण योग बन्छ र यी चिजको योगबाट शरीरलाई स्वस्थ्य रहन योगदान गर्दछ,’ ओलीले भने, ‘मानव जातिको सर्वोपरी आकांक्षा पूरा गर्ने अभियानमा हामी लागिरहेका छौँ। मानव हुनुको सार्थकता र कर्तव्य पूरा गरौँ । हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्पमा छौँ ।’