बालसुधार गृहबाट ६ जना थुनवा र कैदी फरार

बालसुधार गृहबाट ६ जना थुनवा र कैदी फरार
तस्विर सौजन्य : rappler

माघ २९, काठमाडौं। भैरहवाको बालसुधार गृहबाट ६ जना थुनवा र कैदी फरार भएका छन् । बालसुधार गृहको आँगनमा रहेको गेट र भित्तामा लगाइएको काँडेतारको प्वालबाट सोमबार राति करिब १२ बजे उनीहरु फरार भएका प्रहरीको अनुमान छ।

फरार हुनेमा जबरजस्ती करणी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका देवदह ७ रुपन्देहीका १६ वर्षीय जीवन खत्री, जबरजस्ती करणी मुद्दामा ११ वर्ष कैद सजाय भुक्तान गरिरहेका नौबाहिनी ४ प्युठानका १६ वर्षीय सुरेश घर्ती, चोरी मुद्दामा एक महिना १५ दिन सजाय पाएका तानसेन ३ पाल्पाका १७ वर्षीय सन्दीप रणपाल, चोरी मुद्दामा एक महिना कैद सजाय भोगिरहेका विरुवा गाउँपालिका ४ स्याङ्जाका १७ वर्षीय अनिश थापा, नकवजनी चोरी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका गाईघाट नेपालटार ३ उदयपुरका १७ वर्षीय सिद्धार्थजंग लामा ९सविन पौडेल० र चोरी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका बुटवल ८ का १५ वर्षीय राजेश सुनार रहेको बालगृहले जनाएको छ ।

१८ वर्ष मुनिका पुरुष कैदी र थुनुवालाई भैरहवामा बालसुधार गृहमा राख्ने गरिएको छ । सुधार गृहका कैदी र थुनुवालाई बालमैत्री वातावरण अन्तर्गत घाम ताप्न कोठाबाट बाहिर निकाल्ने गरिएको थियो । फरार अभियुक्त र कैदीहरुको रातिदेखि नै खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।