वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा

वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा

वीरगञ्ज, १० साउन । 
समुदायमा कोरोना फैलिएपछि आज बिहानदेखि वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ।

जिल्ला कोभिड -१९ संकट व्यवस्थापन समिति निषेधाज्ञा लगाउन सिफारिस गरेपछि  जिल्ला प्रशासन पर्साले आज  बिहान ५ बजेदेखि लागू हुने गरि वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको वीरगञ्ज महानगरपालिकाले जानकारी दिएको छ ।

निषेधाज्ञा जारी भएसँगै महानगरका ३२ वटै वडामा अत्यावश्यक सेवाबाहेकका सबै गतिविधि गर्न पूर्ण रुपमा रोक लागाईएको छ ।

‘ट्राभल हिस्ट्री’ नभएका मानिसहरुमा पनि कोरोना संक्रमण देखिने तथा मृत्यु भएपछि समुदायमा कोरोना संक्रमणको भयावह स्थिति आउन सक्ने भन्दै जिल्ला कोभिड -१९ संकट व्यवस्थापन समितिले तत्काल निषेधाज्ञा जारी गर्न सुझाएको थियो ।   

समुदाय स्तरमा कोरोना संक्रमित बढेसँगै महानगरपालिकाले सबै व्यक्तिको कोरोना परीक्षण गर्न सरकारसँग माग गरेको छ ।

शुक्रबार वीरगञ्जको कोभिड अस्पतालमा मृत्यु भएकी बाराकी १७ वर्षीया किशोरीमा पनि कोरोना पुष्टि भएको छ। दुई दिन अघि वीरगञ्जमै एक पुरुष र एक महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति पाँच थुनुवासहित ३२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।