जसपाको विज्ञप्तिप्रति प्रधानमन्त्री सचिवालयको आपत्ति

जसपाको विज्ञप्तिप्रति प्रधानमन्त्री सचिवालयको आपत्ति

२७ साउन, काठमाडौं । 
हालै जनता समाजवादी पार्टी नेपाल (जसपा)ले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति गरिएको टिप्पणीलाई प्रधानमन्त्रीको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले मंगलबार एक प्रेस नोट जारी गर्दै प्रधानमन्त्रीप्रति लक्षित विज्ञप्तिमा रहेको अशिष्ट र पूर्वाग्रही टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक  रहेको बताएका छन्।

जसपाले २५ साउनमा जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री केपी ओली शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको ठहर गरेको थियो।

‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको र वर्तमान सरकार बनेदेखि नै संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता लगायतका पक्षलाई कमजोर पार्ने षड्यन्त्रसहित पहिचान र अधिकारका लागि जनताले उठाएका मागलाई जातिवादको रूपमा चित्रण गर्ने कार्य गरेर देशभित्र विभाजनको विऊ रोप्ने कार्य गर्दैछ’ विज्ञप्तिमा लेखिएको थियो।

‘पटकपटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका, अझ आफूलाई सुशिक्षित भनेर चिनाउन रूचाउनेहरू संलग्न दलबाट यस स्तरको तरिका खासमा कुण्ठाग्रस्त गालीगलौज मात्र हो र सोंचको दिवालियापन नै हो ।’थापाले भनेका छन्,  'त्यस्ता तत्वहरू इतिहासको गर्भमा सीमित भइसकेका छन्। अरूबाट निर्देशित कदम, गलत नीति, विचार र व्यवहारले कोही कसैलाई सफलता हासिल हुँदैन भन्ने जगजाहेर छ।'