स्वास्थ्यकर्मी र कोरोना संक्रमितमाथि दुर्व्यवहार गर्नेहरूलाई कानुनी कारबाही गर्न साझा पार्टीको माग

स्वास्थ्यकर्मी र कोरोना संक्रमितमाथि दुर्व्यवहार गर्नेहरूलाई कानुनी कारबाही  गर्न साझा पार्टीको माग

काठमाडौं, ७ भाद्र । 
कोरोना भाइरस (कोभिड- १९) का संक्रमित तथा उपचारमा अहोरात्र खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि  भएको दुर्व्यवहार अमानवीय र आपराधिक भएको भन्दै साझा पार्टीले आपत्ति जनाएको छ । 

कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै जाँदा राजधानी काठमाडौँसहित देशका विभिन्न भागमा पछिल्ला दिनमा चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरूमाथि दुर्व्यवहार भएका समाचारप्रति साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले आइतबार विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्।

'आवश्यक विश्रामसमेत नलिई विरामीहरूको सेवामा अहोरात्र खटिईरहेका स्वास्थ्यकर्मीहरूको उच्च सम्मान गरिनुपर्नेमा उल्टै आफ्नै छरछिमेकबाट उनीहरूमाथि सामाजिक विभेद र दुर्व्यवहार हुनु अमानवीय र आपराधिक व्यवहार हो' , साझा पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्यकर्मी तथा कोरोना संक्रमित व्यक्तिमाथि अनावश्यक आशंकाका आधारमा दुर्व्यवहार र भेदभाव गर्नेलाइ तत्काल कानूनी कारवाहीको दायरामा ल्याउन साझा पार्टीको माग छ ।