छिट्टै कोरोनालाई परास्त गरी नागरिकको सेवामा समर्पित हुनेछु : मेयर शाक्य

छिट्टै कोरोनालाई परास्त गरी नागरिकको सेवामा समर्पित हुनेछु : मेयर शाक्य
तस्विर सौजन्य : रिपब्लिका

काठमाडौं, १६ भाद्र । 
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनालाई परास्त गरी छिट्टै नागरिकको सेवामा समर्पित हुने विश्वास व्यक्त गरेका छन् ।

मङ्गलबार एक विज्ञप्ति जारी गर्दै मेयर शाक्यले आफूमा मनोबल उच्च रहेको र त्यसले कोरोना परास्त गर्ने विश्वास व्यक्त गरेका हुन् । 

'कोरोनाको जटिल परिस्थितिमा समेत उच्च सावधानी अपनाउँदै कोभिड १९ को नियन्त्रण र व्यवस्थापनसँगै कोरोनाको कहरबाट काठमाडौं र उपत्यकावासीलाई जोगाउने अभिप्रायका साथ अहोरात्र कार्यक्षेत्रमा खटिइरहेको अवस्थामा मलाई संक्रमण पुष्टि भयो' शाक्यले विज्ञप्तिमा उल्लेख गरेका छन् । 

परिवारसहित होम आइसोलेसनमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै बसिरहेको शाक्यले भनेका छन् । कोरोनाको रिपोर्ट पोजेटिभ आए पनि मनोबल उच्च रहेको र अहिलेसम्म कुनै पनि लक्षण नदेखिएको मेयर शाक्यले बताएका छन् । 

'कोरोनाजस्तो अदृश्य शत्रुसँगको लडाइँ एक्लाएक्लै जित्न सकिन्न । त्यसैले आ-आफ्नो ठाउँबाट एकमुष्ठ प्रयास गरौं र कोरोनालाई परास्त गरौं,' उनले विज्ञप्तिमा थपेका छन्, 'स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न र संक्रमित भनेर कसैलाई कसैले दुर्व्यवहार नगर्न पनि विनयपूर्वक आग्रह गर्दछु ।'