सैनामैनाकी कोरोना संक्रमितको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु

सैनामैनाकी कोरोना संक्रमितको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु

अनिल सापकोटा,
सैनामैना, १८ भाद्र । 

रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

रुपन्देहीको सैनामैना ११ सालझण्डी(बनकट्टा)की ७७ वर्षीया महिलाको उपचारका क्रममा बिहिबार  बिहान साढे ४ बजे मृत्यु भएको कोरोना विशेष अस्पताल बुटवलका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । 

तीन  दिनदेखि खोकी लाग्ने, ज्वरो आउने भएपछि बुधबार सालझण्डीको स्थानिय मेडिकल जचाउदा बुटवल लैजान सुझाएपछि बुधबार साँझ ७ बजे  प्रादेशिक अस्पताल पुर्याइएको र अस्पतालमा इमरजेन्सी एक्स्पर्ट टेस्टबाट पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । 

कोरोना विशेष अस्पतालमा बेड र भेन्टिलेटर दुवै खाली नभएर प्रादेशिक अस्पतालकै आइसालेसनमा राखी उपचार गरिएको थियो ।  श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अक्सिजन दिई उपचार भइरहदा श्वास लिन नसकेपछि मृत्यु भएको डा. थापाले बताए ।

महिलाको कोरोना संक्रमणबाट मृत्यु भएपछि सैनामैना ११ को बनकट्टा टोल शिल गरिएको वडाअध्यक्ष सुनिल मरासीनीले जानकारी दिए । 

"हामीले शिल गरिएको क्षेत्रमा मानिसको आवतजावत ठप्प पारेर दुध संकलन गर्ने कार्य पनि केही दिनका लागि बन्द गर्न भनेका छौ । प्रक्रिया पुर्याएर कन्ट्रयाक ट्रेसिङको काम अघि बढाइसकेका छौँ," वडाअध्यक्ष मरासीनीले बताए ।

सैनामैनामा कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो ।